फाल्गुन १, २०७२- वेदमा नदीको रूपमा उल्लेख भएकी सरस्वती क्रमश: वाग्देवी, विद्या र कलाकी अधिष्ठात्री देवीमा रूपान्तरण भइन् । भारतको शुतुद्रि (सतलज) कै एउटा सहायक नदीको रूपमा सरस्वतीको उल्लेख पाइन्छ । बेला—बेलामा नदीले आफ्नो मार्ग परिवर्तन गरेजस्तै सतलज नदी र सरस्वती नदीको मार्ग फेरियो । सरस्वती नदीको किनारमा विकसित भएको संस्कृति र सभ्यता भने स्मरणीय रहन गयो । ऋग्वेद, यजुर्वेद र अथर्ववेदमा विभिन्न प्रसङ्गमा सरस्वती नदीको उल्लेख छ ।
वैदिक आर्य र सिन्धु घाँटीको सभ्यताभन्दा पहिले नै सरस्वती नदीको किनारमा आर्य सभ्यता र संस्कृति मौलाइसकेको थियो । ऋग्वेदमा सरस्वती नदीलाई श्रद्धेय माता ठूलो नदी र देवीहरूमा सर्वोत्तम भनेर स्तुति गरिएको छ । ‘अम्वितर्म नदीतमे देवीतमे सरस्वती’ भन्दै ऋषि धृत्समद, भार्गव र शौनकले सरस्वती नदीको स्तुति गरेका थिए ।
बच्चालाई दूध र खाना खुवाएर आमाले स्याहारेको जस्तो सरस्वती नदीले पनि आफ्नो शरणमा आउनेलाई सेवा पुर्याएको वर्णन शास्त्रमा छ । हिमालबाट बग्ने नदीहरू अन्त्यमा समुद्रमा गएर मिसिन्छन् । सप्तसिन्धु प्रदेशको नामले भारतको पन्जाव चिनिन्थ्यो । त्यही सप्तसिन्धुमध्ये एक सरस्वती नदी अन्य ६ वटा नदीकी जन्मदाता हुन् । सिन्धु र इन्डस नदी फरक—फरक स्थानमा बग्ने नदी हुन् ।
अथर्ववेदमा इन्द्रदेवले अन्य देवता र मरुतगणको सहयोगले सरस्वती नदीको किनारमा जौं उमारेको प्रसङ्गबाट वैदिक समयको कृषि युगबारे जानकारी हुन्छ । वैदिक समयदेखि आजसम्म आइपुग्दा सरस्वती नदीको अस्तित्व लोप भए पनि जनजिब्रोमा अझै तिनको नाम स्मरणीय छ । बिहान गङ्गे च यमुने चैव गोदावरी सरस्वती, नर्मदे सिन्धुकावेरी जलेस्मिन् सन्निधं कुरु भनेर श्लोक भट्याउँदै स्नान गर्ने परम्पराबाट पनि सरस्वती नदीको महत्त्व थाहा हुन्छ ।
महाभारत र पुराणमा शिवभक्त दधिची र उनका छोरा सारस्वतको जन्मको उल्लेख छ । ऋषि दधिचीको कठोर तपस्याबाट डराएका इन्द्रले तपस्या भङ्ग गर्न स्वर्गकी अप्सरा अलम्वुषालाई पृथ्वीलोकमा पठाए । दधिची सरस्वती नदीमा स्नान, जप, ध्यान, तर्पण गर्न लाग्दा अप्सरा अलम्वुषा आँखै नझिम्काएर एकोहोरो हेरिरहन्थिन् । ती दिव्यरूप धारिणी अप्सरासँंग आँखा जुध्दा महर्षिको वीर्य सरस्वती नदीमा खस्यो ।
सरस्वती नदीले वीर्य ग्रहण गरिन्, समय पुगेपछि दिव्य बालकको जन्म भयो । ती बालक सारस्वत नामले प्रख्यात भए । सरस्वती र ऋषि दधिचीका पुत्र सारस्वत लोककल्याणका कार्यहरूद्वारा प्रसिद्ध छन् ।
वैदिक कालमै पूजा पाएका देवीहरूको स्वरुप पौराणिक कालमा अझै मौलायो । मार्कण्डेय पुराणको दुर्गा सप्तशति पाठ व्यापक भएपछि महालक्ष्मी, महाकाली र महासरस्वतीका मूर्त र अमूर्त स्वरुप स्थापना र पूजन व्यापक हुँदै गयो ।
हिन्दुहरूले मञ्जुश्रीका विभिन्न स्वरुपलाई सरस्वतीको रूपमा र बौद्ध धर्मावलम्बीले बज्रवीणा आर्य सरस्वतीलाई देवी सरस्वतीकै रूपमा मान्यता दिएर पुज्न थालेका उदाहरण थुप्रै छन् । काठमाडौं उपत्यकामा सरस्वतीका प्राचीन र सुन्दर चित्र र मूर्तिहरू विभिन्न स्थानमा छन् । पशुपति जयवागेश्वरी, लाजिम्पाट, कमलादी, फर्पिङ, पाटन, भक्तपुर, ठमेल, हाँडीगाउँ, कीर्तिपुर, महांकालस्थान, सांँखु, बूढानीलकण्ठ र इन्द्रेश्वरको अर्धनारेश्वर विष्णु—सरस्वती मूर्ति यसका उदाहरण हुन् ।
फर्पिङ कमलपोखरीको ने.सं. ३१२ (इ.सं. ११९१) को सरस्वती मूर्ति आजसम्म प्राप्त मिति भएको पुरानो मूर्ति हो । तर ढुङ्गाको गुण र शैलीको हिसाबले जयवागेश्वरी, कमलादी, लाजिम्पाटको नीलसरस्वती, हाँडीगाउँ र फर्पिङका सरस्वती मूर्तिहरू सातौं शताब्दीदेखि दसौं, एघारौं शताब्दीमा निर्मित देखिन्छन् ।
सरस्वतीका मूर्ति निर्माण गर्ने विधान प्रतिमा विज्ञानका पुस्तकहरूमा छन् । वैदिक कालमा पवित्र नदीको रूपमा पूजा, आराधना पाएकी मातालाई साक्षात देवीकै स्वरुपमा उपासना गर्न रुचाइयो । त्यही अनुरुप उनका सौम्य मूर्तिहरू बने । अग्निपुराण र मत्स्यपुराणमा ब्रह्माको दायाँ सरस्वती र बायाँ सावित्रीको मूर्ति बनाउने नियम उल्लेख छ । वैदिक साहित्यभन्दा पौराणिक साहित्यमा ब्रह्माको महत्त्व गौण देखिन्छ ।
शिव र विष्णुलाई पनि सृष्टिकर्ताको रूपमा व्याख्या गर्न थालिएपछि त्यसको प्रभाव मूर्तिशास्त्र र निर्माण पनि पर्यो । माता सरस्वतीलाई विष्णुको मूर्तिमा शक्तिको रूपमा दर्शाउने चलन व्यापक हुँदै गयो । विष्णुका स्थानक (उभिएको) मूर्तिमा भूदेवी र सरस्वती एवं लक्ष्मी र गरुड निर्माण गर्ने परम्परा नेपालमा प्रचलित छ ।
सरस्वतीलाई महादेवीकी छोरी, गणेशकी दिदी र ब्रह्माकी पत्नी मानेर त्यही अनुरुप बनाइएका चित्र र मूर्तिहरू पनि प्राप्त छन् । नीलसरस्वती, महाकाल सरस्वती र दरबारमार्ग तीनधारामा स्थापित सरस्वती मूर्तिका पादपीठमा सानो स्वरुपका गणेश निर्माण गरिएका छन् । सरस्वती मूर्ति स्थापना गरिएको मन्दिरका गर्भगृहमा गणेशका मूर्तिहरू राखेको उदाहरण पनि छन् ।
पशुपति जयवागेश्वरी, फर्पिङका सरस्वती मूर्ति यसका केही उदाहरण हुन् । सेतो वस्त्र लगाएर कमलको फूलमा बसेको वा उभिएका सरस्वती मूर्तिहरू बनाउने नियम छ । चारवटा हात भएकी सरस्वती मूर्तिका आयुधमा भने पुस्तक, कमण्डलु, मसीदानी र स्फटिक माला राखिएको हुन्छ । राजहाँस चरी र मयूर सरस्वतीको बहानको रूपमा दर्शाइन्छ । प्रतिमा विज्ञानअनुसार सरस्वती देवीको प्रतिमा बनाउँदा शिरमा जटामुकुट, कानमा मणिक वा मोतीको कुण्डल, हातमा कमण्डलु, वीणा, मसीको भाँडो, पुस्तक र अभय मुद्रा प्रदर्शन गरिन्छ ।
सौम्य स्वरुपकी देवी सरस्वतीको वस्त्र, आसन कमलको फूल सबै सेतो/पहेँलो रङ्गको बनाइन्छ ।
सरस्वती देवीको पूजा गर्दा भक्तले पनि सेतो वा पहेँलो वस्त्र लगाउने परम्परा छ । वीज मन्त्र ‘ॐ श्रीम भ्रीम सरस्वतये नम:’ तीनपल्ट दोहोराएर तीन वर्षभन्दा माथिका केटाकेटीलाई पहिलोपल्ट अक्षर लेख्न र उच्चारण गर्न सिकाइन्छ । घरको पूजाकोठामा सरस्वतीको मूर्तिसँंगै पुस्तक, कलम र वाद्ययन्त्रहरूको पनि पूजा आरती गरिन्छ । बडादसैंमा गरिने सरस्वती पूजामा आयुधको पूजा पनि गरिन्छ । भारतको बंगाल र काठमाडौंमा पनि माटोको सरस्वती मूर्ति बनाएर पण्डालमा स्थापना गर्ने र पूजा समाप्तपछि विसर्जन गर्ने चलन छ । जल र ध्वनि प्रदूषण कम गर्न यस्तो काममा सजग हुनुपर्ने आवाज उठिरहेको छ । जुन अति नै उपयोगी कार्य हो ।
मल्लकाल र शाहकालमा सरस्वती देवीको पूजा र प्रतिमा स्थापना बालकहरूको रक्षाका लागि पनि गरिन्थ्यो । सरस्वतीको आराधना विद्या र सीपसँगै सुरक्षासंँग पनि जोडिएको छ । रणबहादुर शाहले अपशकुन हटाउने कार्य गर्दा गिद्धहरूलाई मारेर जाउलाखेलमा पोल्न लगाएका थिए । बस्ती नजिकैको स्थलमा भूतप्रेतको डर हुने भएकोले पण्डित र तान्त्रिकहरूको सल्लाहले सरस्वतीको मूर्ति स्थापना गरिएको वर्णन कवि सुन्दरानन्दको त्रिरत्न सौन्दर्य गाथामा छ ।
सरस्वती पूजा (वसन्त पञ्चमी वा श्री पञ्चमी) माघ महिनाको शुक्लपक्षको पञ्चमी तिथिमा पर्छ । वसन्त ऋतुको आगमनलाई स्वागत, सत्कार गर्ने भएकोले यसै दिन प्रेमका देवता, वसन्त ऋतुका स्वामी कामदेव र उनकी पत्नी रतिको प्रतिमामा पनि पूजा गर्ने र वसन्त श्रवण गर्ने चलन छ ।
वेदव्यास, परशुराम, भृगु, वृहस्पति, शुक्राचार्य, वाल्मिकी, पराशर, याज्ञवल्क्य, भरद्वाज, श्रीकृष्ण सबैले सरस्वतीको उपासना गरेर आ–आफ्नो क्षेत्रमा बौद्धिक सफलता प्राप्त गरेको उल्लेख पुराणहरूमा छ । ब्राह्मी, भारती, वाक्, वाणी, सरस्वती, शारदा, हंसवाहिनी, वागिश्वरी, ब्रह्माचारिणी आदि विभिन्न नामले आह्वान गरेर पुस्तक, कापी, कलम र प्रतिमाको स्वरुपमा देवी मातालाई पूजा गर्ने चलन छ ।
ग्रन्थ रचना गर्न बस्दा सरस्वतीलाई स्मरण गरेर वन्दना गरिएको उदाहरण थुप्रै छन् । महाभारत ग्रन्थको प्रारम्भमा पनि सरस्वती देवीलाई प्रणाम गरिएको छ । सरस्वती देवीको कृपाले प्राप्त कवचद्वारा नै हाम्रा प्राचीन ऋषिमुनीहरूले वेद, उपनिषद, पुराण, स्मृति र महाकाव्य लेख्न सफल भएका थिए ।
विद्याको देवीलाई प्रसन्न पारेर ज्ञान, धन र विनय प्राप्त गर्ने पाठशाला, महा र विश्वविद्यालयमा विशेष कार्यक्रम आयोजना गरेर सरस्वती पूजा गर्ने परम्परा छ । विद्या आर्जनपछि चेतना पनि खुल्ने भएकाले सरस्वतीको बाहन राजहंसले जस्तै दूध र पानी छुट्टाउने खुबी हामी सबैमा विकसित भएर जाओस् भन्ने कामनासहित सरस्वतीको आराधना गर्नुपरेको छ । विशेष कार्य र संस्कार गर्न श्रीपञ्चमीको दिनमा साइत हेर्नु नपर्ने मान्यताबाट पनि यस पवित्र दिनको महत्त्व बुझ्न सकिन्छ ।
साभार : प्रा. विणा पौड्याल, कान्तिपुर समाचार